काठमाडौं । प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।
ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।
हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरु मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।
यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।
जसका लागि निम्न फोन नम्बरमा सम्पर्क गर्न सकिने छ –
०६७४–२३९६५५०
०६७४–२३२३४०१
०६७४–२३२३४०२
०६७४–२३२३४०३
र ह्वाट्सएप नम्बर– ९१२४६२०६०५
ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
‘उक्त हेल्प डेस्क तत्काल प्रभावकारी रूपमा लागू हुने छ,’ ओडिसा सरकारका विशेष सचिवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरूलाई शीघ्र पुनरागमनमा सहायता पुर्याउने तथा व्यक्तिगत कल्याणसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न यो हेल्प डेस्कले सक्रिय रूपमा काम गर्ने छ ।’
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी-टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको अनलाइनखबरलाई बताएका थिए ।
प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो ।
तर नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनेको थियो । उसले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी हेल्पडेस्क समेत स्थापना गरेको छ । तर नेपाल आइपुगेका कतिपय नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस गरेको बताएका छन् ।
बुधबार पर्साको वीरगञ्ज, मोरङको जोगबनी र झापाको काकडभिट्टा नाका हुँदै करिब दुई सय नेपाली विद्यार्थीहरु फर्किएका छन् । उनीहरुले थप विद्यार्थीहरु पनि फर्किने तयारीमा रहेको जनाएका छन् ।



















