काठमाडौं । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शन गरेको छ ।
नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । उनीहरूले कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित पोडकास्ट चलाउने सुशान्त प्रधानविरुद्ध निवेदन दिएका हुन् । कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ ।
‘निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासनद्वारा हाम्रो मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गर्दै सामाजिक सद्भावमा खलल पुर्याउनेहरूलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा पक्राउ गराउनको लागि दबाब दिएका हौँ,’ प्रदर्शनकारीका एक जनाले जनाए ।
यता विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले जनाए । ‘चारै जना हाम्रो सम्पर्कमा हुनुहुन्छ । आज सबैलाई बोलाएर छलफल गराउँदै छौँ,’ ती अधिकृतले भने ।
















