काठमाडौं । फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा फागुन १५ र १६ गते काठमाडौंमा सम्मेलन हुन लागेको हो।
महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिएको जानकारी दिए।
सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहनेछ।
सम्मेलनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानन्तर (प्यारेलल) सत्रमा १६ वटा कार्यपत्रहरु उपर छलफल हुनेछ।
प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनियता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा साइबर कानूनी नीति निर्माण जस्ता विषयहरुमा छलफल हुने बताए।
सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि अनुकुल कानूनी संरचना निर्माण, मानव अधिकार संरक्षण तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय हुने महान्यायाधीवक्ता बडालले जानकारी दिए।


















