केपी ओली कप हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगे

48

काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज सुरु भएकाे छ । साँझ ६ बजेदेखि सुरू भएकाे फाइनल हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगेका थिए ।

तर फाइनल खेलको व्यवस्थापनमा भने विजोग दृश्य देखिएको छ । रंगशालाको क्षमताभन्दा धेरै बढी पासहरू बाँडेका कारण रंगशाला दिउँसै भरिँदा अझै पनि धेरै दर्शकहरू रंगशाला बाहिर रहन बाध्य भएकाे तथा सञ्चारकर्मीहरूलाई पनि भित्र जान दिइएको छैन ।

रंगशाला प्रवेश गर्ने सबै गेटहरूमा सुरक्षाकर्मी खटाइएको छ । पास भएर पनि भित्र जान नपाउँदा दर्शकहरू आक्रोशित छन् भने सञ्चारकर्मीहरूलाई पनि आयोजकले केही जानकारी नगराएको भन्दै बाहिरै रोकिएको छ ।

केही सञ्चारकर्मीहरू धकेलाधकेलकै बीचमा भित्र प्रवेश गरेका छन् । उनीहरूलाई प्रहरीले धकेलाधकेल गर्दै दु:ख दिएको बताइरहेका छन् । मैदानभित्रको माहोल ठिकै देखिएपनि बाहिरको दृश्य भने विपरित छ ।

 

रंगशाला बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । दर्शकहरू पनि बाहिरै छन् । त्यही भीडले गर्दा सञ्चारकर्मीहरूले पनि प्रवेश पाएका छैनन् । सुरक्षाकर्मीले रंगशाला भरिइसकेको भन्दै सबैलाई मनाही गरिरहेका छन् ।

यसबारेमा आयोजकले पनि कुनै चासो नदिएको गुनासो आइरहेको छ । त्यस्तै सञ्चारकर्मीलाई दिइने प्रवेशबारे पनि सुरक्षाकर्मी र आयोजकका बीचमा तालमेल नमिलेको देखिएको छ ।

एक सञ्चारकर्मीले दर्शकहरू खेलभन्दा पनि खेलपछि हुने कन्सर्टका लागि आएको र आयोजकले पनि क्षमताभन्दा निकै बढी पास बाँडेको दाबी गरेका छन् ।

‘दर्शक धेरै देखाउने लोभले झण्डै २० हजार पास बाँडेको देखिन्छ, यो क्षमताभन्दा धेरै बढी हो’ एक सञ्चारकर्मीले भने, ‘अन्य धेरै साथीहरू बाहिरै हुनुहुन्छ, छिर्न दिइएको छैन, हामी जबरजस्ती ज्यानकै बाजी लगाएर छिरेका हौं।’

मिडियाका प्रतिनिधिहरू बस्ने ठाउँ अर्थात् मिडिया बक्स खाली भएपनि प्रवेश नपाएका कारण भित्र कोही पनि जान पाएका छैनन् । यसबारेमा आयोजकले राम्रोसँग संयोजन नगरेको बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here