एजेन्सी । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी गरेका छन् । जो रोगनसँगको तीन घण्टा लामो अन्तर्वार्तामा अमेरिकाको संघीय सरकारमा भइरहेको भ्रष्टाचार, ठगी र अनियमितताको उनले खुलासा गरेका हुन् ।
यसक्रममा उनले अमेरिकी सरकारबाट अनुदान लिने गैरसरकारी संस्थामार्फत् भइरहेका अनियमितताबारे पनि खुलासा गरे ।
मस्कले सरकारी कर्मचारीको अकर्मण्यतालाई पनि उजागर गर्दै सरकारभित्र निष्क्रिय रहेका हजारौं कर्मचारीहरूमाथि प्रश्न उठाए । उनले यसअघि सरकारी कर्मचारीहरूलाई अवकाश लिन भन्दै इमेल पठाएका थिए ।
उनको सो इमेलपछि ७७ हजार कर्मचारीले स्वैच्छिक रूपमा आफ्नो पद त्यागेका छन् । मस्कका अनुसार यी कर्मचारीहरूले आफूहरूको भविष्य सुरक्षित नरहेको महसुस गरेपछि आकर्षक राहत प्याकेज लिएर बाहिरिन थालेका छन् ।
अन्तर्वार्ताको क्रममा उनले ठट्टामै भने, ‘यदि मैले पूर्णरूपमा भ्रष्टाचार समाप्त गरेँ भने, उनीहरूले मलाई मार्नेछन् ।’


















