काठमाडौं । साताकाे पहिलाे दिन राजावादीहरुको प्रदर्शनकाे प्रभावका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन गर्न सर्वसाधारणा सास्ती खेप्नु परेकाे छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक ठप्पै बन्द भएको छ ।
राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि रहेकाे छ ।नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।
यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् ।
कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरु लगायत पनि ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलको गेट अगाडि भेला भएका छन् । राजावादीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ताहरुलाई ओसारेका छन् । उनीहरु राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित जनाएका छन् ।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् ।
उपत्यकाका काठमाडाैं भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन र काभ्रे तर्फबाट आउनेहरुको र्याली तीनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढेको छ । यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढेको छ ।
अहिले विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरुको भिड जम्मा भएको छ । उनीहरुलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरु तैनाथ छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु खटाइएको छ ।पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।


















