काठमाडौं । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव हुँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेका छन्। भारतबाट हाल दैनिक ७०० मेगावाट भन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसका कारण उद्योगहरू प्रभावित भएका छन्।
परराष्ट्र मन्त्री डा.आरजु राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरेकी हुन्। भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको छ।
ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जलविद्युत् परियोजना ‘रन अफ दि रिभर’ भएकाले सुख्खायाममा उत्पादन घटेर १,००० मेगावाटमा सीमित हुन्छ। यस्तो अवस्थामा भारतबाट बिजुली आपूर्ति आवश्यक पर्ने भएकाले सरकारले दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनाहरूलाई प्राथमिकता दिने नीति लिएको छ।
नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ। सुख्खायामका बेला भारतीय बजारबाट ‘सोलार आवर’ मा मात्र बिजुली आयात गर्न सकिने हुँदा उद्योगहरूलाई लोडसेडिङको चुनौती थपिएको छ।
भारतले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेमा नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ।














