शिक्षक आन्दोलनले देखायो नेताहरुको हैसियत

45
काठमाण्डौ / देशभरका शिक्षक अहिले विभिन्न माग राखेर राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शैक्षिक हड्तालका कारण देशभरका सामुदायिक विद्यालय प्रभावित भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बनाउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् । तर सरकारले शिक्षकको माग पूरा गर्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुका मागबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई, मुख्य सचिव र सचिवहरुसँग छलफल गरेका छन् ।

नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत समस्याको छिटो समाधान खोजिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तर पनि शिक्षक र सरकारबीचको संवाद सार्थक हुन सकेको छैन ।

यतिवेला देशभरका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरूको माग विगतमा आफूहरूसँग भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने भन्ने मात्र छ ।

शिक्षक तथा कर्मचारीहरूले २०८० को असोज २ गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो ।

त्यस्तै असोज १२ गते राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी, पेन्सन वञ्चित लगायतसँग थप पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई समेत मन्त्रालयले संसद्मा विधेयक संशोधनका लागि पठाउन आवश्यक सहजीकरण गर्ने भनिएको थियो ।

दुई पटक गरिएको ११ बुँदे सहमतिअनुसार सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न शिक्षा समितिमा पेस गरेको थियो भने शिक्षक तथा कर्मचारीले सांसदहरूलाई सरकारसँग गरिएको सहमतिअनुसार संशोधन प्रस्ताव हाल्न लगाएका थिए । जसले गर्दा १५२ सांसदहरूले संशोधन प्रस्ताव हालेका थिए ।

नेपाल शिक्षक महासंघले सरकारले आफूसँग गरेको सहमतिअनुसार ऐनमा समावेश गर्नुपर्ने भन्दै २२ बुँदे माग बनाएको छ । जुन गत वर्ष सरकारले गरेको सहमतिअनुसारकै हुन् ।

नेपालमा आन्दोलनमा रहेका शिक्षकहरूका मुख्य मागहरू निम्नलिखित छन् :

तलब र भत्तामा समानता : शिक्षकहरूको तलब र भत्ता निजामती कर्मचारीको सरह हुन्ुपर्ने, विशेषगरी निमावि र मावि शिक्षकहरू बीचको तलब विभेद हटाउनुपर्ने।

स्थायी नियुक्ति : अस्थायी र करारमा कार्यरत शिक्षकहरूलाई विगतका सहमति अनुसार स्थायी गर्नुपर्ने।

द्वन्द्वपीडित शिक्षकलाई न्याय : द्वन्द्वकालमा विस्थापित वा पेशाबाट बाहिरिन बाध्य शिक्षकहरूलाई सेवा अवधि गणना गरी न्याय दिनुपर्ने।

दुर्गम भत्ता : दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूलाई निजामती कर्मचारी सरह दुर्गम भत्ता दिनुपर्ने।

बढुवा र ग्रेड प्रणाली : आवधिक बढुवाको व्यवस्था र तलबमा ग्रेड विभेद हटाउनुपर्ने।

शिक्षा ऐन कार्यान्वयन : विद्यालय शिक्षा सम्बन्धी विधेयक तत्काल पारित गरी शिक्षकहरूको अधिकार र शिक्षा सुधार सुनिश्चित गर्नुपर्ने।

सेवा सुविधा र सम्मान : शिक्षकहरूलाई उचित सेवा सुविधा, पेन्सनका लागि अस्थायी अवधि गणना, र शिक्षण पेशाको सम्मान कायम गर्नुपर्ने।

विद्यालय कर्मचारीको दायित्व : विद्यालय कर्मचारीहरूको सेवा सुविधा र स्थायित्व सुनिश्चित गर्नुपर्ने।

शिक्षक आन्दोलनका कतिपय मागबारे सरकारले धारणा नै बनाउन सकेको छैन । बिहीबार आन्दोलनकारी शिक्षक र शिक्षा मन्त्रालयबीच वार्ता भयो । वार्तामा शिक्षामन्त्री विद्या भट्टराई राज्य पक्षबाट आफैँ सामेल थिइन । तर, शिक्षामन्त्रीसँग आन्दोलनकारी शिक्षकलाई भन्नका लागि कुनै नयाँ कुरा थिएन ।

शिक्षकका मागमा पेशागत विषय मात्र छैनन्, विद्यालय शिक्षासँग जोडिएका संरचनात्मक विषय समेत उठेका छन् । यिमध्ये कतिपय सवाल गम्भीर र जटिल प्रकृतिका छन् । त्यसमाथि गम्भीर विमर्श र गृहकार्य आवश्यक पर्दछ, जो सरकारले अहिलेसम्म गरेको छैन ।

प्रधानमन्त्री ओलीको ध्यान त्यस्तो विमर्श र गृहकार्यीतर छैन । उनले शिक्षक आन्दोलनबाट धेरै ठूलो दबाब महसूस गरेका छैनन् । सम्भवत उनी ती ‘आफ्नै भ्रातृ सङ्गठन त हुन्’ भन्ने मनोविज्ञानबाट प्रेरित र निश्चिन्त छन् ।

शिक्षा मन्त्रालयले चाहेर पनि एक्लै शिक्षकका माग सम्बोधन गर्न सक्दैन । किनकि शिक्षकका माग पूरा गर्दा सृजना हुन्े थप वित्तीय भार बहन गर्न सरकार राजी हुनु पर्नेछ । तसर्थ, शिक्षक आन्दोलनका माग सम्बोधन गर्न प्रधानमन्त्री र अर्थमन्त्री नै अघि सर्नुपर्ने हुन्छ ।

सरकार अहिले आफैँ चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ । अहिले नै देशको वास्तविक चालु खर्च वर्षिक बजेटको ८० प्रतिशत छ । राजस्व र आय लक्ष्य भेट्न नसकेको कारणले सरकारले मध्यावधि समीक्षा गर्दै बजेट घटाएको छ ।

यस्ता अनेक कारणले संविधानले कल्पना गरेको कल्याणकारी राज्य, निःशुल्क तथा अनिवार्य विद्यालय शिक्षाको मौलिक अधिकार सङ्कटमा परेको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here