रुस र युक्रेनबीच जारी युद्धमा ठूलो संख्यामा ड्रोन आक्रमण

8
A smoke plume rises from an ongoing fire at Dubai International Airport in Dubai on March 16, 2026. Flights were gradually resuming at Dubai airport on March 16, previously the world's busiest for international flights, the airport operator said, after a "drone-related incident" sparked a fuel tank fire nearby, as Iran kept up its Gulf attacks. (Photo by AFP) /

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ । यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनहरूसँगै एक ‘नेप्च्युन–एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ । मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

यसअघि आइतबार बिहान रुसी रक्षा मन्त्रालयले रातभरिमा मात्रै ५५६ वटा युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको जानकारी दिएको थियो । ती ड्रोनहरू रुसका विभिन्न क्षेत्र हुँदै राजधानी मस्कोतर्फ लक्षित गरिएको जनाइएको छ ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, पछिल्लो २४ घण्टामा राजधानी मस्को क्षेत्रमा मात्रै १२० भन्दा बढी ड्रोन खसालिएका छन् । रुसी सरकारी समाचार संस्था टासले यसलाई एक वर्षभन्दा बढी अवधिमा मस्कोमाथि गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरेको छ ।

यस घटनाले रुस–युक्रेन युद्ध थप तीव्र बन्दै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन् । पछिल्ला महिनाहरूमा दुवै पक्षले ड्रोन तथा मिसाइल प्रयोगमा उल्लेखनीय वृद्धि गरेका छन् । विशेषगरी, युक्रेनले रुसी सैन्य संरचना, इन्धन भण्डारण केन्द्र र राजधानी आसपासका क्षेत्रमा ड्रोन आक्रमणलाई तीव्र बनाएको देखिएको छ ।

यद्यपि, युक्रेनतर्फबाट यस घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । युद्धका कारण दुवै देशमा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ भने अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न कूटनीतिक पहल बढाउन आग्रह गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here