नवराज विक हत्या प्रकरणमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै

47

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ सुरु भएको हो।

जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए।

जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले जातीय विभेदकै कारण घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरी हत्या गरेको ठहरमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। यस्तै दुई जनालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ सजाय गरिएकोमा ८ जनाले भने सफाइ पाएका थिए।

आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here