सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ ।
डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।
बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्ने समेत निर्णय गरिएको प्रजिअ महतले जनाए । लोप हुँदै गएको बहुमूल्य जडीबुटी यार्चागुम्बा संरक्षणका लागि पाटन क्षेत्रमा फोहोर सङ्कलन गर्ने व्यक्ति वा समूहलाई नगदसहित पुरस्कृत गर्न सम्बन्धित समिति र स्थानीय तहसँग सहकार्य गर्ने निर्णय समेत भएको छ ।
पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने जनाइएको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन् ।
डोल्पामा २०४० सालदेखि यार्साको व्यावसायिक सङ्कलन सुरु भएको थियो । यार्सा संकलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिम लगायतका क्षेत्रहरूबाट अधिकांश घर नै खाली गरेर जाने गर्दछन् ।















