भक्तपुर । चाँगुनारायण नगरपालिका कार्यालय भबन पुग्न भक्तपुर नगरपालिकाको सडक प्रयोग नगरी जान नसकिने भएकाले बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहलाई भेटका क्रममा आफ्नै नगरपालिकाको बाटो हुँदै नगरपालिकाको कार्यालय पुग्ने सडक खोलिदिन आग्रह गरेका हुन्।
चाँगुनारायण नगरपालिका वडा नम्बर १,२ र ३ का बासिन्दाहरूले नगरपालिका कार्यालय पुग्न भक्तपुर नगरपालिकाको सडक भएर जानू पर्ने बाध्यता रहेको भन्दै सांसद श्रेष्ठले वडा नम्बर २ दुवाकोट मोड देखि खस्याङखुसुङ खोलाको किनारबाट करिडोर बनाएर आफ्नै नगरपालिकाको बाटो हुँदै नगरपालिका कार्यालय सम्म पुग्न करिडोर निर्माणका लागि बजेट बिनियोजन गरिदिन आग्रह गरेका हुन्। गत आईतबार भारतमा आफ्नो स्वास्थ्योपचार गरी स्वदेश फर्किएका प्रतिनिधि सभाका सांसद दुर्लभ थापालाई थापाकै नीजि निवासमा स्वास्थ्य सम्बन्धी जानकारी लिन आएका उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री सिंहलाई यसै बर्षको बजेटमा खस्याङखुसुङ खोला करिडोर समाबेश गरिदिन आग्रह गरेका हुन्।
संघीय सांसद दुर्लभ थापा र उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री सिंह दुबैलाई आग्रह गरेकाले बजेट बिनियोजन हुनेमा आफू ढुक्क रहेको बताए। मन्त्री सिंहले तत्काल प्रस्ताब पेश गर्न आग्रह गरेका थिए। गत बर्ष सांसद श्रेष्ठले बागमती प्रदेशबाट भित्रि चक्रपथका लागि निलबाराहि दुवाकोट सडकको लागि १० करोडको बजेट ब्यबस्था गरिदिएका छन्। खस्याङखुसुङ करिडोरका लागि नगरपालिकाले ड्रोन मार्फत पहिलेनै नक्साङ्कन गरिसकेको छ।

















