जेठ १५ मा राजसंस्थाको पुनरागमन नहुने चेतावनी

33

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने प्रस्ट पार्दै अब कुनै पनि जेठ १५ मा राजसंस्थाको पुनरागमन नहुने चेतावनी दिएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीभित्रै बसेर लोकतन्त्र उल्ट्याउने प्रकारका अभिव्यक्तिहरू दिइनु आपत्तिजनक रहेको बताए। “आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष भइरहेको छ, र देशलाई प्रतिगमनतर्फ लैजाने हुंकार सुनिन्छ – यो निकै अचम्मको कुरा हो,” उनले भने।

उनले प्रतिगमनको बाटोमा लाग्नेहरूलाई समयको महत्व बुझ्न आग्रह गर्दै भने, “अब आउने कुनै पनि जेठ १५ मा राजसंस्था फर्किने छैन। यस्तो भ्रममा नपरौं, यस्ता सपना काम लाग्दैनन्।”

प्रधानमन्त्री ओलीले देश संविधान र कानुनअनुसार नै सञ्चालन हुने दोहोर्‍याउँदै, सबैलाई यही ढाँचामा चल्न तयार हुन आग्रह गरे। “शान्तिपूर्ण आन्दोलन र वैधानिक प्रक्रिया सिक्न सके राम्रो हुन्थ्यो,” उनले थपे।

उनले प्रतिगमनको वकालत गरेर “टाउको ठोक्किने गरी उफ्रिनु” को कुनै अर्थ नरहेको भन्दै, संवैधानिक व्यवस्थामा विश्वास राखेर अघि बढ्न सबै पक्षलाई आह्वान गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here