एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न तयार रहेको बताएको छ ।
सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि हालैका वर्षहरूमा यी दुई देश नजिक भएका छन् । गत हप्ता सीको रूस भ्रमणले किएभका सहयोगीहरूमा आक्रोश निम्त्याएको थियो । किएभका सहयोगीहरूले बेइजिङमाथि मस्कोलाई आक्रमणात्मक युद्ध चलाउन आर्थिक र राजनीतिक आवरण दिएको आरोप लगाएका छन् ।
‘चिनियाँ सेना रणनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउन, रणनीतिक सञ्चार बढाउन र व्यावहारिक सहयोग विस्तार गर्न रूसी पक्षसँग काम गर्न तयार छ’, रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले सोसल मिडिया प्लेटफर्म विच्याटमा पोस्ट गरिएको प्रतिक्रियामा भने, ‘यी कदमले नयाँ युगका लागि समन्वयको चीन–रुस व्यापक रणनीतिक साझेदारीको सामग्रीलाई समृद्ध पार्नेछ ।’
उनी यसले विश्वव्यापी रणनीतिक स्थिरता कायम राख्न र सुदृढ पार्न पनि योगदान दिने बताए । आफ्नो भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो बैठकपछि सीले रूससँग चीनको सम्बन्धले अशान्त विश्वमा ‘सकारात्मक ऊर्जा’ ल्याएको जनाए । उनले दुवै मुलुक ‘आधिपत्यवादी धम्की’ विरुद्ध दृढ रहेको बताउनुभयो । यो संयुक्त राज्य अमेरिकामा स्पष्ट प्रहार थियो ।
आफ्नो तर्फबाट पुटिनले पत्रकारहरूलाई आफू र सीले ‘परम्परागत रूपमा न्यानो, मैत्रीपूर्ण’ वार्ता गरेको र चिनियाँ नेतालाई आफ्नो ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेको जनाए ।


















