काठमाडौं । नेपाल शाकाहारी संघले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी गराए ।
गुरुङका अनुसार महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘करुणाले जोड्छ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपंक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास आयोजकको छ ।
अहिंसाका मूल्य र शाकहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, संघ-संस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको अध्यक्ष गुरुङले जनाए ।
उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया, साङ्गीतिक प्रस्तुति, योग सत्र समेत रहनेछ । साथै देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज समेत महोत्सवमा रहनेछन् ।
संघले यसअघि २०७४ सालमा काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) को आयोजना गरेको थियो । उक्त सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको गुरुङले जनाए।


















