अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण अफ्रिकाका समकक्षी रामफोसाबीच चर्को घोचपेच

13

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाबीच बुधबार ह्वाइट हाउसमा मिडियाकै सामुन्ने चर्को घोचपेच भएको छ। भेटघाट सौहार्दपूर्ण रहन नसकेको यो घटनाले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ।

यसरी घोचपेचको सुरु भयाे :

ओभल अफिसमा बैठक सुरुमा सौहार्दपूर्ण वातावरणमा भएको थियो। दुवै राष्ट्रपतिले गल्फका बारेमा कुरा गरे र ट्रम्पले अफ्रिकामा गल्फ खेल्नेहरूको प्रशंसा गरे। दक्षिण अफ्रिकाका राष्ट्रपति रामफोसाले ‘टी’ शब्दको चर्चा गर्दै ‘ट्रेड’ (व्यापार) को विषयमा कुरा गर्ने प्रयास गरे। उनले एक मिनरल डीलको विषयमा पनि कुरा गरे।

यसै क्रममा अचानक ट्रम्पले आफ्ना स्टाफलाई बत्ती निभाउन भने, जसबाट दक्षिण अफ्रिकी राष्ट्रपति छक्क परे। त्यसलगत्तै ट्रम्पले एक भिडियो देखाउन लगाए। भिडियो सुरु भएपछि रामफोसाले इशारामा ‘यो के हो?’ भनी प्रश्न गरे, तर ट्रम्पले पर्खन भने। रामफोसाले भिडियो पूरै नहेरे पनि २-३ पटक पछि फर्किएर हेरे।

गोरा किसानको नरसंहारको आरोप र प्रतिवाद:

ट्रम्पले भिडियोलाई दक्षिण अफ्रिकामा गोरा मानिसहरूमाथि भइरहेको नरसंहारको प्रमाण भन्दै हजारौं गोरा किसानको चिहान भएको दाबी गरे। उनले गोरा किसानहरू अमेरिकातर्फ भागेको दाबी गर्दै त्यसविरुद्ध कडा कदम उठाउन आग्रह गरे।

जवाफमा रामफोसाले ट्रम्पको दाबीहरूको खण्डन गर्दै ‘नरसंहारको अफवाह नफैलाउन’ र ‘नभएको झुटो कुरा नगर्न’ भने। उनले अमेरिकी राष्ट्रपतिलाई दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित भएको र धेरैजसो काला जातिका मानिसहरू पीडित रहेको स्पष्ट पारे। “दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित छन्, जसमा अधिकांश अश्वेत रहेका छन्। त्यहाँ केवल गोरा मानिसहरू मात्र पीडित छैनन्,” रामफोसाले भने।

रामफोसाले आफूलाई संयमित राख्दै ट्रम्पको दाबी अस्वीकार गरे। उनले आफूले पहिले कहिल्यै यस्तो भिडियो नदेखेको र यसको आधिकारिकताको जाँचबुझ गर्ने बताए। तर, आफ्नो देशमा कुनै एक समुदायको मात्र नभइ सबैजना अपराधबाट प्रताडित रहेको उनको दाबी थियो।

ट्रम्प रोकिएनन्, उनले समाचार लेखहरू देखाएर ‘हत्यामाथि हत्या भइरहेको’ बताए। रामफोसाले छोटो भिडियोले दक्षिण अफ्रिकाको समग्र चित्र प्रस्तुत नहुने भन्दै आफ्नो सरकारको नीति जुनसुकै प्रकारको हिंसा अन्त्य गर्ने रहेको बताए। उनले आफ्नो देशमा अपराध अत्याधिक रहेको स्वीकार गरे तर गोरालाई मात्र लक्षित गरिएको कुरा अस्वीकार गरे।

कतारबाट प्राप्त प्लेनमाथि सटायर:

घोचपेचकै क्रममा रामफोसाले ट्रम्पलाई कतारबाट प्राप्त प्लेनको विषयमा समेत कटाक्ष गर्न भ्याए। उनले भने, “मलाई माफ गर्नुस्, मसँग तपाईंलाई दिन प्लेन छैन।” जवाफमा ट्रम्पले भने, “यदि तपाईंसँग प्लेन हुँदो हो त म लिने थिएँ।”

भूमि अधिग्रहण कानुनका कारण असन्तुष्ट ट्रम्प:

दक्षिण अफ्रिकामा सन् २०२४ अक्टोबर ९ मा लागू भएको भूमि अधिग्रहण कानुनका कारण ट्रम्प असन्तुष्ट छन्। यो कानुनअनुसार सरकारले सार्वजनिक हितका लागि सडक, अस्पताल वा स्कुल बनाउनुपरेमा बिना मुआब्जा निजी जग्गा अधिग्रहण गर्न सक्नेछ। यो कानुनको उद्देश्य दक्षिण अफ्रिकाको इतिहासमा रङ्गभेदका दौरान भएको अन्यायलाई सच्याउन ल्याइएको दाबी गरिन्छ, जहाँ कालाहरूबाट गोराहरूले जग्गा जवर्जस्ती कब्जामा लिएका थिए। जसका कारण अहिले पनि गोराहरूसँग ठूलो हिस्सा जमिन रहेको छ। ट्रम्पको विश्वास छ कि यो कानुनले गोराहरूमाथि अन्याय गरिरहेको छ।

राष्ट्रपति ट्रम्पसँगै अर्बपति एलन मस्कले पनि यो कानुनको कडा विरोध गरेका छन्। ट्रम्पको विश्वास छ कि यो कानुनका कारण गोराहरूबाट जग्गा जवर्जस्ती सरकारले लिइरहेको छ। यही मुद्दालाई देखाएर ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको सम्पूर्ण आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन्।

उनले दक्षिण अफ्रिकाको सम्पूर्ण फन्डिङ मात्र रोकेनन्, उनले त्यहाँबाट अमेरिका आउन चाहने गोरा किसानलाई अमेरिकाले ठूलो हृदयले स्वागत गर्ने र उनीहरूको शरणार्थी आवेदनलाई फास्ट ट्र्याकमार्फत सम्बोधन गर्ने घोषणा गरे। यसका कारण अहिले दक्षिण अफ्रिकाबाट गोरा किसानहरूको ठूलो संख्या अमेरिका प्रस्थान गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपतिले आफ्नो पाहुनामाथि मिडियाकै अगाडि दुर्व्यवहारपूर्ण घोचपेच गरेको यो दोस्रो अवसर हो। यसअघि गत फेब्रुअरी २८ मा ओभल अफिसमै मिडियाहरूका अगाडि युक्रेनका राष्ट्रपतिको पनि उनले अपमानपूर्ण व्यवहार गरेका थिए, जसका कारण युक्रेनका राष्ट्रपति ह्वाइट हाउसबाट लन्चसमेत नगरी हिँडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here