विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन च्याम्पियन्सीप छनोट अन्तर्गत लाओसमा हुने अवे खेलको तयारीमा रहेको छ ।
काठमाडौंमा बन्द प्रशिक्षणमा रहेको टोलीले जितका लागि तयार गरिरहेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए ।
प्रवक्ता साहले तयारीका क्रममा टोलीलाई दुरुस्त राख्न करिब ६ दिन मनाङमा अभ्यासका लागि राखिएको जानकारी गराए । उनका अनुसार, “खेलाडीको स्वास्थ्य, शारिरीक फिटनेस, र तनाव कम गराउने हेतुले मनाङमा लगिएको हो । त्यसक्रममा खेलाडीहरू थप उत्साहित भएको पाएका छौं । त्यसपछि अहिले टोली काठमाडौंमा विहान र बेलुका अभ्यासमा रहेको छ । हामी टोलीको शतप्रतिशत नतिजा आउनेमा विश्वस्त छौ।”
राष्ट्रिय टोलीका प्रशिक्षक म्याट रसको मेहनत र रणनीति अनुसार टोलीले आफूलाई अभ्यस्त बनाउँदै लगेको उनले जनाए । खेलाडीको अनुभव, अभ्यासलाई प्रशिक्षकले नजिकबाट नियाल्दै आएको बताएका प्रवक्ता साहले भने, “लाओससंगको खेलमा हामीले राम्रो नतिजा अपेक्षा गरेकाछौ । त्यसअघि, टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र आत्मबल उच्च बनाउन हङकङसँग मैत्रीपूर्ण खेल राखेका हौ । हङकङसँगको खेलबाट वरियतामा समेत हामीले ध्यान दिएका छौं । यसले पनि खेलाडीको मनोबल बृद्धि गर्ने अपेक्षा छ । हामी दुवै खेल जित्नेमा विश्वस्त छौं ।”
उनका अनुसार हाल बन्द प्रशिक्षणमा २५ जना खेलाडी रहेकाछन्। दुवै खेलका लागि क्याम्पमा रहेका खेलाडीमा पुराना र नयाँ गरि मिश्रित अनुभव रहेको उनको भनाइ छ । टोलीले आउँदो जुन ५ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।
हङकङ हाल फिफाको वरियतामा १ सय ५३ औं स्थानमा रहेको छ । त्यसैगरि, एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गत टोलीले लाओससँग जुन १० मा प्रतिस्पर्धा गर्नेछ । हाल लाओस फिफा वरितयाताका क्रममा १ सय ९० औं स्थानमा रहेको छ ।



















