भ्याट नतिरेपछि बिजमाण्डु प्रालिको कारोबार रोक्का, दर्ता निलम्बन

51

काठमाडौं/पटक–पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाएपछि सञ्चारमाध्यम ‘बिजमांडूडटकम’ सञ्चालन गर्दै आएको बिजमांडु प्रालिको कारोवार रोक्का गरिएको छ।

आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार, विभागको मिति २०८२ जेठ ९ गतेको निर्णयअनुसार बिजमांडु प्रालिसहित ९५ हजार ३४९ करदाताको भ्याट दर्ता निलम्बन गरिएको हो। ती कम्पनीहरूले विगत ६ महिनादेखि कारोबार विवरण पेश नगरेको पाइएपछि विभागले भ्याट ऐन, २०५२ को सम्बन्धित प्रावधान अनुसार कारबाही अघि बढाएको हो।

यसअघि विभागले १५ दिनभित्र कारोबार विवरण बुझाउन वैशाख ११ गते सूचना प्रकाशित गर्दै ताकेता गरेको थियो। तर समयसीमा सकिँदासम्म पनि अटेरी गर्दै विवरण नबुझाएको पाइएपछि सम्बन्धित कम्पनीहरूको कारोवार रोक्का गर्नुका साथै दर्ता निलम्बन गरिएको हो।

विभागका अनुसार दर्ता निलम्बनमा परेका करदाताहरूले कर विवरण पेश गरी कारोबार नियमित गरेमा स्वचालित रूपमा उक्त सूचीबाट हट्न सक्ने व्यवस्था मिलाइएको छ। साथै, ती कम्पनीहरूको नामबाट हुने आयात–निर्यातसमेत रोक्का गर्न भन्सार विभागलाई समेत अनुरोध गरिएको छ।

बिजमांडु प्रालिका नाममा सञ्चालित अनलाइन माध्यम बिजमांडूडटकम ले पत्रकारिताको नैतिकता विपरीत आचरण गर्दै आएको भन्ने गुनासाहरू पनि सुनिन थालेका छन्।

विज्ञापन संकलनको नाममा विभिन्न सरकारी तथा निजी निकायमा अनावश्यक दबाब दिने, विज्ञापन नदिने व्यवसायी वा निकायविरुद्ध भ्रमात्मक समाचार प्रकाशन गरी मानमर्दन गर्ने प्रवृत्ति देखिएको जनगुनासो विभागसम्म आइपुगेको स्रोतहरूको दाबी छ।

अरुलाई नैतिकताको पाठ पढ़ाउने बिजमांडू स्वयंले राज्यलाई बुझाउनु पर्ने राजस्व नतिरी वित्तीय अपराध गर्नु कत्तिको उचित हो? भन्ने प्रश्न पनि उठन थालेको छ। संचारमाध्यम नै गैरजिम्मेवार हुने यस्ता गतिविधिले सञ्चार माध्यमप्रति आमजनको भरोसा घटाउने र पत्रकारिताको धर्ममाथि प्रश्न उठाउने अवस्था सिर्जना भएकोले सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

आन्तरिक राजस्व विभागले यस्ता कम्पनीहरूसँग कारोवार नगर्न सबैलाई आग्रह गर्दै, कर सम्बन्धी कुनै दाबी वा विरोध भएमा सम्बन्धित करदाता सेवा कार्यालयमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here