काठमाडाैं । पाँच वर्ष पहिले एउटा मुद्दाबाट चर्चामा आएकी संसदकी कर्मचारी रोशनी शाही आइतबार मृत फेला परिन्। जाजरकोट स्थायी घर भएकी शाही भक्तपुरमा श्रीमानसँगै डेरामा बस्दै आएकी थिइन्। तर श्रीमान् चित्रजंग शाही कार्यालयको कामले विराटनगर पुगेको अवस्थामा शाही मृत फेला परेकी हुन्। बन्द कोठाभित्र मृत फेला परेकी रोशनीको मृत्युको कारण भने खुल्न बाँकी छ।
कोठाभित्र घोप्टो परेको अवस्थामा भेटिएकी उनले विष सेवन गरेको प्रमाण पनि प्रहरीले फेला पारेको छैन। उनी झुण्डिएकी पनि थिइनन्।
अहिलेसम्म उनले ओभरडोज औषधि सेवन गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले आफन्तसँग सोधपुछ गर्दा रोशनीले यसअघि पनि आत्महत्याको प्रयास गरेको र बेलाबेला आवश्यकभन्दा बढी औषधि सेवन गर्ने गरेको खुलेको छ।
पोस्टमार्टमबाट केही कुरा खुल्न सक्ने प्रहरीको अपेक्षा छ।
उनले बढी औषधी वा विष खाएको पत्ता लगाउन भने भिसेरा परीक्षण गरिनेछ। त्यसपछि मात्रै उनको मृत्यु कसरी भयो भन्ने खुल्ने जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए।
यस्तै रोशनी मृत फेला परेको कोठामा उनको सुसाइड नोट पनि फेला परेको छ। उक्त नोट रोशनीकै हो भन्ने यकिन गर्न परीक्षण गर्नुपर्छ। प्रहरीले उनको आधिकारीक सुसाइट नोट हो भन्न सकेको छैन।
न्यौपानेले भने, ‘त्यहाँ २ पेजको ‘सुसाइड नोट’ भेटिएको छ। तर उहाँकै हो भन्ने प्रमाणित नभई हामीले बोल्न मिलेन। त्यो नोटमा आफ्नै कारण मृत्यु रोजेको भनिएको छ र कसैलाई आक्षेप लगाइएको छैन।’
उनले सुसाइड नोटमा विदेशमा भएका छोरासँग माफी मागेकी छन्। छोराका लागि आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न नसकेको उल्लेख गरेकी छन्। तर त्यो नोटमा श्रीमानको बारेमा भने खास केही उल्लेख छैन।
भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटमा डेरा गरी बस्ने रोशनीले दिउँसोसम्म पनि ढोका नखोलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।
तीनतले घरको भुइँतलामा उनीहरु बस्थे। प्रहरी, जनप्रतिनिधि र स्थानीय समेत भई खोलेर हेर्दा रोशनी कोठाभित्र मृत फेला परेकी थिइन्।


















