काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको जनाएका छन् ।
१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू भइरहेको छलफलमा थापाले यस्तो जनाएका हुन् ।
उनले केही समयदेखि पानी बाराबारको अवस्थामा रहेका राजावादीहरू अहिले एकठाउँमा आएको भन्दै उनले अहिले आफ्ना एजेन्डाका लागि सर्वाधिक अनुकूल समय आएको जनाए ।
‘पानी बाराबारको अवस्थाबाट राजावादी एकठाउँमा उभिने अवस्थामा पुग्यौं’ अध्यक्ष थापाले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीका लागि यो सर्वाधिक अनुकूल अवस्था आएको छ भन्ने रियलाइजेसन भएको छ ।’
उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको जनाए ।
वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानून बनाउन खोजेको थापाको धारणा थियो ।
थापाअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धारणा राखेका थिए । उनले १५ जेठका लागि आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनलाई भड्काउन प्रधानमन्त्री नै लागेको जनाए ।
















