गर्भपतन गराउने सङ्ख्या बढ्दै

477

तनहुँ/सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाहरुको सङ्ख्या बढ्दै छ । परिवार नियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले बताइन । “दम्पतिमा जनचेतना हुँदाहुँदै पनि चरम लापरवाही गर्ने गरेको देखिन्छ,” उनले भनिन्, “कतिपय महिलाले त वर्षमा दुई/तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको पाइन्छ ।”

“गर्भपतन गराउन औजर प्रयोग गर्नुपर्दा रक्तस्राव हुन सक्ने, पाठेघरमा सङ्क्रमण हुन सक्ने र पाठेघरमा प्वाल पर्न गएमा मानिसको मृत्युसमेत हुन सक्छ,” सूचना अधिकारी वाग्लेले भनिन्, “तैपनि महिला शल्यक्रिया गर्न नै रुचाउँछन् । एक चक्की पिल्सले गर्भनिरोध हुन्न भन्ने भ्रम अझै महिलामा रहेका कारणले पनि गर्भपतन गराउने सङ्ख्या बढेको हो ।”

“महीनावारी भएको पाँचदेखि निरन्तर एक महीनासम्म पिल्स चक्की खानुपर्छ । पछिल्लो समय गर्भपतन गराउन आउने २० वर्षमुनिका युवतीको सङ्ख्या नगण्य मात्रामा रहेको छ,” उनले भनिन् । सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । अहिले अस्पतालमा २० वर्षमाथिका विवाहित महिला नै बढी मात्रामा गर्भपतन गराउन आउने गरेका छन् । गर्भपतन गराउन आउने महिलामा पहिलो स्थानमा आदिवासी जनजाति, दोस्रो स्थानमा दलित, तेस्रो स्थानमा ब्राह्मण क्षेत्री समुदायका महिला रहेको उक्त अस्पतालको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ३०२ को गर्भपतन गरिएकामा यस आवको साउनदेखि पुस मसान्तसम्म १५९ महिलाको गर्भपतन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here