अमेरिकाले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने

87

काठमाडौं ।  अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी-विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ।

समाचारमा लेखिएअनुसार यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन। त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई ‘केही दिनभित्र’ दिशानिर्देश प्राप्त हुने भनिएको छ। अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ। पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने जारी रहनेछन्।

विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई गम्भीरतापूर्वक लिइने बताएकी छन्। विदेशमन्त्री मार्को रुबियोले गत हप्ता भिसालाई ‘विशेषाधिकार’ भन्दै क्याम्पसमा बाधा पुर्‍याउने विद्यार्थीको भिसा खारेज गर्ने चेतावनी दिएका थिए। यो कदम हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक्ने गृह सुरक्षा विभागको प्रयासपछि आएको हो, जुन शुक्रबार अदालतले रोकिदिएको थियो।

ट्रम्प प्रशासनले हार्वर्डसँगको १० करोड डलरको सम्झौता रद्द गर्ने र अनुदान ट्रेड स्कुलमा स्थानान्तरण गर्ने योजना बनाएको छ।  यस नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ। अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हजारौँ नेपाली जाने गरेका छन्।

अमेरिकाले विश्वभरबाट १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी स्वीकार गर्छ। यसअघि लागू सामाजिक सञ्जाल जाँचलाई यो निर्देशनले थप विस्तार गर्नेछ। रोक विश्वव्यापी भए पनि कुनै देशका आवेदकमाथि विशेष छानबिन हुने हो भन्ने अझै स्पष्ट छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here