नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे

32

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्।

महिला राष्ट्रिय टोलीले पाएको उनी औपचारिक रूपमा पहिलो विदेशी प्रशिक्षक हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुईजनाबाट उनको नाम फाइनल गरेको हो।

‘उहाँ नेपाली फुटबलबारे जानकार पनि हुनुहुन्छ। त्यसैले उहाँलाई फाइनल गरेका हौं,’ एन्फाका एक पदाधिकारीले  भने।

उनले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन्। यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।

नेपाल फिफा वरीयतामा ९९औं स्थानमा छ। लाओस भने आठ स्थान तल अर्थात् १०७औं स्थानमा छ। नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ।

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, उनको टोली लिग चरणमा पोखरा थन्डर्ससँग गोलअन्तरले पछि पर्दै प्लेअफमा पुग्न चुकेको थियो।

प्याट्रिकले पछिल्लोपल्ट सोमालिया राष्ट्रिय फुटबल टोली सम्हालेका थिए। उनीसँग रुवान्डाको टोली सम्हालेको अनुभव पनि छ। यस्तै, उनले चीनको यु–२३ टोली सम्हालुनका साथै अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here