काठमाडौं । काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको छ । महानगर भित्र जडान गरिएका वायू प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक भएको हो ।
विश्व वातावरण दिवसको अवसर पारेर विहीबार ड्यास बोर्ड सार्वजनिक गरिएको महानगरले जनाएको छ । ड्यास बोर्डबाट महानगरपालिका क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पि.एम. २.५ र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न सकिन्छ । यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ ।
काठमाडौं महानगरपालिकाको वेब साइटमा गएर नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’ मा क्लिक गरेपछि ड्यासबोर्डका पुगिन्छ । यसको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ ।

वैजनी रङ्गले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुन सक्ने संकेत गरिएको छ । यस्तै गाढा खैरो रङ्ग जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुन सक्छ । खासगरी पहिले नै समस्या भएकाहरुका लागि बढी असर हुन सक्छ ।
यसकारण राखियो वेबसाइटमा ?
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई वायु गुणस्तरको अवस्था हेरेर व्यक्तिहरुले जीवनशैली अपनाउन सक्छन भनेर राखिएको बताउँछिन् । ‘वातावरणीय अनुकुलता र प्रतिकुलता हेरेर त्यसअनुसारको जीवनशैली र आचरण बनाउनु पर्छ । यसका लागि प्रणालीले वास्तविक समयको सूचना दिन्छ,’ उनी भन्छिन् ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार के. सी. भन्छन् ‘ड्यास बोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ ।’
७ दिनसम्मको हेर्न सकिन्छ तथ्यांक
हेल्दी सिटि नेटवर्क परियोजनाका प्रमुख इञ्जिनियर सञ्जिब पाण्डेका अनुसार ड्यास बोर्डमा ७ खण्डहरु छन् । यस अघि सहरका बिभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणबाट वायु गुणस्तर हेर्न व्यवस्था वोर्डको मुख्य विशेषता हो ।
यससँगै वायु गुणस्तर सूचकांक बुझ्न सहयोग गर्ने शैक्षिक सामग्री राखिएका छन् । वायु गुणस्तर सूचकांकलाई रङ्ग संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड छ । वायू प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ छ । सवारी साधन प्रदुषण चेकजाँचको प्रगति विवरण हेर्न सकिन्छ ।
ड्यासबोर्डमा प्रत्येक घण्टाको पि.एम २.५ सूचकांकका विवरण हेर्न सकिन्छ । वितेका ७. दिनसम्मको तथ्याङ्क बोर्डमा हेर्न सकिन्छ । यस अघिका विवरण महानगरपालिकाको वातावरण व्यवस्थापन विभागबाट प्राप्त गर्न सकिन्छ ।
छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएका छन् ।
यस्तै चक्रपथको ठुलो भर्याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान भएका छन् ।
यी उपकरणमा भएका क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थाको हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा प्राप्त हुन्छ ।


















