‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको उपाधि एपीएफले जित्याे

28

पोखरा । ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपीएफ च्याम्पियन बन्यो । एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।

यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपीएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपीएफले ६ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख पुरस्कारमा चित्त बुझायो ।

यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित हुँदै ३० हजार पुरस्कार पाइन् । उत्कृष्ट सेटरमा एपीएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपीएफकी सृष्टि खड्की, ब्लकर न्यू डायमन्डकी सुमित्रा रेग्मी, लिब्रोमा डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै जनही २० हजार पुरस्कार पाए ।

प्रतियोगिताको च्याम्पियन टोली तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, आयोजक नेपाल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गरे ।

यही जेठ २७ देखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here