काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने जनाएका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनुपर्ने जनाए ।
उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ ।’
राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरुलाई पनि उनले व्यंग्य गरे । उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला । सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ ।’