काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको जनाएका छन्।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। भिजिट भिसा प्रकरणमा रास्वपा अझै विरोधमा रहँदा माओवादी र एकीकृत समाजवादी किन सहमतिमा आएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए। अझ पनि त्यही प्रयासमा आफू रहेको उनको दाबी थियो। रास्वपाका नेताहरुले यो कुरा पछि बुझ्ने उनले जनाए।
उनले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो। गम्भीर विषयमा होइन। अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दै छु। रास्वपाका साथीहरुले पछि बुझ्नुहुन्छ।’


















