सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामूहिक रुपमा पहल थालनी

9

म्याग्दी । बेनी नगरपालिका ४ सिंगाको सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामूहिक रुपमा पहल थालनी भएको छ ।

पछिल्लो समय खेलकुदमा निकै चर्चामा रहेको क्रिकेट खेलको सम्भाबना बढ्दै गएको परिप्रेक्षमा बेनी नगरपालिका–४ सुर्केेमेलाका स्थानीय बासिन्दा, युवा क्लब एवम् जिल्ला क्रिकेट संघ तथा खेलप्रेमीहरुको सक्रियतामा मैदानको सम्भावनाको बारेमा अध्ययन थालिएको हो ।

सुर्केमेला युवा क्लबका अध्यक्ष युवराज रोकाका अनुसार सुर्केमेलाको शिवालय आधारभूत विद्यालयको नजिकै रहेको सार्वजनिक जमिनमा क्रिकेट मैदानको सम्भावना रहेकोले त्यसमा अध्ययन थालिएको हो । मैदान नाप्ने काम भएको छ लम्बाई पुग्छ चौडाइ पनि ठिकै देखियो, अब आमभेला राखेर सबै जनताको राय लिएर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब आमभेला राखेर सबै जनताको सहमति लिएर थप योजना बनाउने हो, सबै जनताको चाहना अनुसारको काम गर्ने र सबैलाई सहजतता र सबैको फाइदाका लागि नै क्रिकेट मैदानको कल्पना गरिएको हो ।’’

क्रिकेट मैदान निर्माण गर्ने योजना अनुरुप स्थानीय क्लब, खेलाडी, स्थानीय बासिन्दा तथा जिल्ला क्रिकेट संघका प्रतिनिधिसहित प्राविधिक टोलीले पहिलो चरणको अध्ययन गरेको सुर्केमेलाका स्थानीय कृष्ण केसीले जानकारी दिनुभयो । आवश्यक हो र सम्भावना पनि राम्रो रहेको हुनाले क्रिकेट खेल्न मिल्ने मैदान त्यस स्थानमा तयार गर्दा राम्रो हुन्छ उहाँले भन्नुभयो । क्षेत्रफल पुग्छ र बस्तीहरुबाट नजिकै रहेको उपयुक्त स्थान भएकाले यो स्थानमा क्रिकेट मैदान बनाउँदा सबैका लागि उपयुक्त हुन्छ ।

शिवालय आधारभूत विद्यालयका पूर्व शिक्षक खड्गबहादुर पुनले सदरमुकाम बेनीदेखि नजिकै रहेको र अन्य केहि कतै पनि असर नगर्ने खालको खुल्ला स्थान भएकाले यसलाई खेल हबको रुपमा अगाडी लैजान सकिन्छ । क्रिकेट मैदान निर्माण गर्न सकियो भने सबै हिसाबले नयाँ तथा पुराना खेलाडीका साथै स्थानीय जनताले फाइदा लिने उहाँको तर्क थियो ।

जिल्ला क्रिकेट संघ म्याग्दीका सचिव छवि आचार्यले क्रिकेट खेलका लागि आवश्यक पर्ने मैदान हाल म्याग्दीमा नभएको अवस्थामा सुर्केमेलामा रहेको यो स्थानलाई मैदान बनाउन सकिने जनाउनुभयो । मैदान निर्माण भएको खण्डमा खेलाडीले अभ्यास गर्न पाउने तथा स्थानीय जनताले पनि आफ्नो उत्पादनको बजारीकरणका लागि सहजीकरण हुने धारणा राख्नुभयो ।

प्राविधिक तथा क्रिकेट खेलाडी भरत धामीका अनुसार सुर्केमेलाको मैदान नाप गर्दा क्रिकेटकालागि आवश्यक पर्ने क्षेत्र पुग्छ र खेलका लागि पनि नदि किनारमा उपयुक्त खालको स्थान छ । खेल मैदानका रुपमा विकास गर्न सकेको खण्डमा बेनीदेखि नजिकै रहेको स्थानमा खेलका लागि पनि सहज हुनेछ । यदी उक्त स्थानमा खेल मैदान निर्माण गर्न सकेको खण्डमा सदरमुकाम क्षेत्रमा हुने खेलहरु पनि सुर्केमेलामा आयोजना गर्न मिल्ने सम्भाव रहन्छ । दुई सय मिटरभन्दा धेरै लामो र झण्डै डेढसय मिटर चौडा देखिएको हुनाले क्रिकेटका लागि यो मैदान उपयुक्त नै देखिन्छ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here