काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार उनीहरूबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको हो।
सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नाउपा संरक्षक चौधरीलाई सरकारबाट नबाहिरिन आग्रह गरेको स्रोतको धारणा छ।
यद्यपि नाउपा संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ आजको संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेकी थिइन्। यसअघि नै नाउपाले संघसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
नाउपाबाट ओली सरकारमा सहभागी भएका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिने तयारी गरे पनि प्राविधिक कारणले अझैसम्म उनले राजीनामा बुझाउन नपाएको स्रोतको भनाइ छ। संरक्षक चौधरीले शीर्ष तहमा राजनीतिक छलफल गरिरहेकाले उनको राजीनामा तत्काललाई ‘होल्ड’ भएको हुनसक्ने स्रोतको बुझाइ छ।


















