काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो ।
नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव छ। खेललाई पेनाल्टीसम्म लगे पनि दुईवटा सट गोलमा परिणत नहुँदा नेपालले पीडा बोकेर फर्किनु परेको छ ।
सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिएपछि नेपाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले चाहेअनुसारको नतिजा नआउँदा थकथकी लागेको जनाइन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई जवाफ दिने क्रममा निराश मुद्रामा देखिएकी उनले उज्वेकिस्तानविरुद्धको खेलको नतिजाले आफूहरूलाई खेलाडीका रुपमा भविष्यसम्म पिरोलिरहने जनाइन् ।
साे प्रतियोगिता खेल्न उज्वेकिस्तान पुग्दा त्यहाँको मौसममा केही असहज भए पनि श्रीलंका र लाओसविरुद्धको नतिजा शानदार आएको उनले जनाइन् । उनले उज्वेकिस्तानविरुद्धको खेलमा सुरुवाती १० मिनेट टोलीले सम्हालिएर नखेल्दा समस्या भएको जनाइन् । यद्यपि कोचबाट पाएको निरन्तरको मोटिभेशनले काम गरेको उनको धारणा थियो ।
साम्बा आफैं पनि तीनवटै खेलको रात सुत्न नसकेको जनाइन् । उनले कप्तानलाई लिएर भएको विवादकमा कारण केही समस्या देखिएको स्वीकारिन् । तर सबैले जिम्मेवारी निर्वाह गरेर खेलेको उनको धारणा थियो।
उनले आफ्नो खेल जीवनकै ठूलो प्रतियोगिता खेल्न पाउँदा धेरै सिकेको पनि जनाइन् । उज्वेकिस्तान नेपालभन्दा धेरै राम्रो टोली भएको जनाउँदै उनले त्यहाँबाट धेरै कुरा सिकेर आएको सुनाइन् ।
















