दिपेश कुमार शाह
कहिलेसम्म नारा? कहिलेसम्म धोका?
मल छैन, पानी छैन रोकिएको छ रोटिका लोका।
नीति छ कागजमा, सपना छन् भाषणमा,
खेतमा छैन कुनै आशाको किरण, न त सरकारको ध्यानमा।
सिमानामा मल थुन्छौ, बोल्छौ देश बलियो!
तर किसानको छाती सुक्दा, किन छ मौन सरकारको पवित्र आलो?
नारा मात्रै हैन, अब जवाफ चाहिन्छ,
खाली घोषणाले हैन, समाधानको हिसाब चाहिन्छ।
शहरमा योजना, गाउँमा अन्धकार,
कानुन छन् तर लागू छैन यो कस्तो सरकार?
बिउ हराउँछ, पानी हराउँछ,
सपना हराउँछ कृषक सधैं रोइरहन्छ।
कृषिप्रधान देश!भन्ने गर्व छैन साँचो,
जब हलो समाउने हातहरू छन् भोकै, नाङ्गा र काँचो।
छोरा विदेश, छोरोको आशू परदेश,
माटोको आवाजलाई सुन्न नसक्ने, तिमी कस्तो देश?
हे सरकार! सुन्दैनौ भने थाहा पाउ,
अब किसान चुप लाग्ने छैन, तिम्रो ढोंग टुट्नेछ थाहा पाउ।
माटोले धान्दैन अब झुटो शासन,
आँशु होइन, अब उठ्नेछ आन्दोलनको ज्वालामुखी जस्तै व्याख्यान।
किसान उठ्नेछ, खेतबाटै क्रान्ति ल्याउनेछ,
सिंहासन हल्लाउने आँधी अब माटोले नै ल्याउनेछ।
सावधान सरकार! अब बिरोध मौन छैन,
यो पटक किसानको कविता होइन चेतावनी हो, तिमीलाई ऐन!


















