काठमाडौ । नेपालले थाइल्यान्डमा भएकाे ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पार्न सफल भएकाे छ ।
थाइल्यान्डको हात्जाईमा गत साउन ६ देखि १२ गतेसम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै कीर्तिमानी प्रदर्शन गरेको हो।
नेपालले मिक्स क्वाड र पुरुष हुप इभेन्टमा स्वर्ण पदक जित्दा पुरुष रेगुमा रजत र पुरुष क्वाडमा कांस्य पदक जितेर सेपाकताक्रोमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि हासिल गरेकाे छ ।
नेपाली टोलीमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर, सुजन थिङ, सनम पुर्जा मगर, राजन नेपाली र मिजेस लामा सहभागिता जनाएका थिए ।
नेपाली टोलीको व्यवस्थापन नेत्रप्रसाद गुरुङले गरेका थिए भने प्रशिक्षकको भूमिकामा अक्कल बहादुर तामाङ र सहायक प्रशिक्षक टेकबहादुर बुढामगर रहेका थिए। प्रतियोगितामा नेपालबाट नेसिर मास्के आईटिओ को रूपमा र मेघराज तोलाङ्गी इस्ताफ रेफ्रीको रूपमा संलग्न भएका थिए।


















