काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर देशको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाण्डौमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक व्यवस्थाको जगमा नै उभिएर समृद्ध नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले अहिलेको समय अनुसार उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने माग र आवश्यकता भएको उल्लेख गर्नुभयाे । विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विकास तथा विस्तार भइरहेको अवस्थामा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको उहाँले बताउनुभयो । उद्यमशीलता नै आर्थिक विकासको आधार रहेको उहाँको भनाइ छ ।
युवाको विदेश पलायनलाई रोकेर स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्न उद्यमशीलता विस्तार एवम् प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेकोमा पाैडेलको जोड छ ।
राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि बताउनुभयो ।
उहाँले प्रविधिमा अभ्यस्त अहिलेका युवालाई स्वदेशमै अवसर दिन सरकारले सहुलियतपूर्ण कर्जामा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण र नवप्रवर्तन तथा उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयाे ।


















