काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।
शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् । यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

















