पोखरा । गण्डकी प्रदेशका तीन क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालित उद्यमशीलता इन्क्युबेसन कार्यक्रम निर्णायक चरणमा पुगेको छ ।
नयाँ आइडियाको प्रस्तुतिसँगै उनीहरूको व्यावसायिक सोच कार्यान्वयनको बाटो फराकिलो भएको छ । यस सफलताबाट आफूहरूको सोचले सार्थकता पाएको महसुस भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । विगत केही महिनादेखिको अथक प्रयासले अहिले मूर्तरूप लिएको उनको भनाइ छ ।
समझदारीको मुख्य उद्देश्य विद्यार्थीहरूमा उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउनु, नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नु र उनीहरूलाई स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न प्रेरित गर्नु थियो। यसमा बिउ लगानीका लागि प्रभु बैंकले सहयोग गर्ने जनाएको छ । त्यस्तै आइडिया स्टुडियो नेपालले क्याम्पसहरूमा इन्क्युबेसन सेन्टरको विकास गरी विद्यार्थीहरूलाई उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप, मार्गदर्शन र अन्य पाटोका सम्बन्धमा विभिन्न चरणका तालिमहरू प्रदान गरेको थियो।
आइडिया स्टुडियोले विद्यार्थीहरूलाई बिजनेस प्लान विकास गर्ने, आवश्यक सर-सल्लाह प्रदान गर्ने र शिक्षकहरूलाई समेत अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि सहयोग गरेको थियो ।


















