काठमाडौं । ओलिज स्टोरका सह–संस्थापक तथा प्रबन्ध निर्देशक लोकेश ओली ‘इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड’बाट सम्मानित भएका छन् । ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रमकाे अवसरमा उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो ।
बिगत १५ वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेका ओली व्यावसायिक घरानाका एक चिरपरिचित व्यक्ति हुन्। उनले प्रविधि र ग्याजेट क्षेत्रमा गुणस्तरीय सामग्रीहरू भित्र्याएर नेपालको बजारमा छुट्टै मानक स्थापना गरेका छन् । उनको नेतृत्वमा रहेको ओलिज स्टोर हाल १० भन्दा बढी स्टोरसहित प्रविधि बजारको अग्रणी नाम बनेको छ, जसले एप्पल, डीजेआई, इन्स्टा३६०, जेबीएल लगायत ८० भन्दा बढी विश्वस्तरीय ब्रान्डका आधिकारिक उत्पादनहरू नेपाली उपभोक्तासम्म सहजै पुर्याउँदै आएको छ।
लोकेश ओलीको यात्रा व्यवसायमा मात्र सीमित छैन। उनी नेपालकै उत्कृष्ट टेक इन्फ्लुएन्सर पनि हुन्, जसले आफ्नो युट्युब च्यानलको माध्यमबाट आम नेपालीलाई प्रविधिको बारेमा ज्ञान बाँडिरहेका छन् ।
खासगरी, टेक्नोलोजीप्रतिको गहिरो लगावसँगै ओली विद्युतीय सवारीसाधन (ईभी) को विषयमा सक्रिय वकालत गर्दै आएका छन् । नेपालमा ईभी सुरुवाती चरणमै रहँदादेखि नै उनले यसको महत्त्वबारे आवाज उठाएका थिए । उनले निरन्तर ईन्धनको न्यूनतम प्रयोग, प्रदूषणमुक्त वातावरण, हरित ऊर्जा र दीर्घकालीन लागत बचतको पक्षमा प्रचार–प्रसार गर्दै आएका छन् ।

















