विराटनगर । एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया रागिनी देवी साह गम्भीर घाइते भएकी छन् ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत पीडित साहको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार घटना पैसाको लेनदेनसँग सम्बन्धित विवादकै कारण भएको हो ।
पीडितका श्रीमान् सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले दुई हजार रुपैयाँ दिएकी भए पनि बाँकी एक हजार नपाएपछि विवाद चर्किएको थियो । यसअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की दिएका थिए ।
घटना हुँदा सन्तोष घर नजिकैको भाँडाकुँडा पसलमा थिए । त्यही बेला रुँदै फोन गरेर श्रीमतीले आफूमाथि आक्रमण भएको खबर गरेका थिए ।
आक्रमणपछि आरोपी श्रवण साह फरार भएका छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाबारे उजुरी आएपछि प्रहरीले साहको खोजी कार्य तीव्र पारेको छ ।


















