काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्न कानुनी बाटो खुलाइदिन सरकारसँग आग्रह गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले यसबारे गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सरकारको निर्णयपछि सूचना जारी गरेर तत्कालै मतदाता नामावली सङ्कलन सुरु गर्ने तयारी आयोगको छ ।
विद्यमान कानुनअनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न नपाइने प्रावधान भएकाले अध्यादेशमार्फत कानुनी बाधा हटाउनुपर्ने आयोगको भनाइ छ ।
यसैबीच विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिनुपर्ने माग बढिरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि आयोगसँग छलफल गर्दै विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आदेश दिइसकेको छ ।
तर आयोगले सरकारसँग साझा अवधारणा र आवश्यक स्रोत–साधनबिनै त्यो व्यवस्था सम्भव नहुने जनाएको छ । विश्वका करिब १७० देशमा रहेका नेपालीमध्ये कूटनीतिक नियोग भएका मुलुकमा मात्र मत सङ्कलन सम्भव हुने विज्ञहरूको आकलन छ ।


















