काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्।
शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्।
पूर्वराजा शाहले नेपालले कुनै पनि परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले देशको राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्धमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
पछिल्लो समय देश र जनताको हितका खातिर गहिरो चिन्ता व्यक्त गर्दै उनले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ तिर धेरै काम भएको भन्दै अब ‘बिगार्ने होइन, सपार्ने’ तिर आफ्ना कार्यक्रमहरू अघि बढ्नुपर्ने आह्वान गरेका छन्।
शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले युवा पुस्तालाई राष्ट्रका भविष्यका आधारस्तम्भको रूपमा चित्रण गरेका छन्। युवाहरूमा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने कुरामा उनले विश्वास व्यक्त गरेका छन्। यद्यपि, सन्देशको अन्त्यमा उनले ‘राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा’ रहेकोले यस वर्ष दशैँ पर्व पारिवारिक र सांस्कृतिक रूपमा मात्रै मनाउनुपर्ने बाध्यता रहेको जानकारी दिएका छन्।
विगतका वर्षहरूमा जस्तो उनीबाट वृहत् रूपमा सर्वसाधारणलाई टीका जमरा प्रदान गर्ने कार्यक्रम यस पटकलाई स्थगन गरिएको घोषणा गरिएको छ।


















