धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।
घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेकाे तथ्यांक छ । कैलालीमा चार जनाकाे मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाकाे मृत्यु र ३७ घाइते भएका छन् ।
दशैंको बेला डाेटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।
आठ लाख ७३ हजार राजश्व संकलन
दशैंको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ ।
प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली चार लाख ६७ हजार र कञ्चनपुरमा एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ ।
बझाङमा ६५ हजार, डाेटीमा ६४ हजार,डडेल्धुरा र बैतडीमा ३४/३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ ।


















