नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनका लागि टेण्डर आह्वान

19

काठमाडौं ।  नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ।

नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा दक्ष सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो। बोलपत्र पेस गर्ने अन्तिम मिति आगामी पुस २ गते (सन् २०२५ डिसेम्बर १७) तोकिएको छ।

सुरुङमार्गमार्फत सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी अभावका कारण अझै सञ्चालनमा आउन नसकेको आयोजनाले जनाएको छ। सडक विभागको सीमित अनुभव र जनशक्तिका कारण सुरुङ सञ्चालन तथा मर्मत चुनौतीपूर्ण हुने भन्दै विशेष तालिम प्राप्त जनशक्तिबाट सञ्चालन गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिएको हो।

छनोट हुने सेवा प्रदायकले पाँच वर्षका लागि सुरुङ मार्ग सञ्चालन तथा मर्मतको जिम्मेवारी लिनेछ। सो अवधिमा विदेशी विज्ञहरूको सहकार्यमा नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई प्रविधि हस्तान्तरण गरिनेछ, जसले भविष्यमा अन्य सुरुङ तथा द्रुतमार्ग (फास्ट ट्रयाक) जस्ता संरचना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

सुरुङ २४ घण्टा सञ्चालन हुने भएकाले आपत्कालीन अवस्था — जस्तै दुर्घटना, आगलागी वा प्रविधिगत समस्या — उत्पन्न भएमा तत्काल सेवा दिन सक्ने व्यवस्था गरिनेछ। त्यसका लागि करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा संरचना सञ्चालन हुनेछ।

सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना,

टोल (सडक उपभोग दस्तुर) संकलनका लागि ५४ जना,

ट्राफिक सुविधा, अनुगमन तथा नियन्त्रणका लागि १४ जना,

सिभिल संरचना र अन्य मर्मत कार्यका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर छ। सरकारले सुरुङमार्गमा गुड्ने सवारीसाधनका लागि दस्तुर दर पनि तोकेको छ —

कार/भ्यान: काठमाडौं आउँदा रु ६५, जाँदा रु ६०

मिनिबस/मिनिट्रक: आउँदा रु ११५, जाँदा रु ८०

बस/ट्रक: आउँदा रु २६०, जाँदा रु २००

भारी सवारीसाधन: आउँदा रु ६००, जाँदा रु २५०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here