रविलाई कारागारबाट निकालेर सिंहदरबार ल्याइयाे

20

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको छ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा उनलाई ल्याइएको हो।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले जनाएको छ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो। त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो। त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here