जेनजी विद्रोहपछि देश असाधारण परिस्थिति

10
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ललितपुर, २० कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत । तस्बिरः गोपाल दाहालररासस

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने जनाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने केन्द्रीय सदस्यहरूले जेनजी विद्रोहका सन्दर्भमा गहन समीक्षा गरी त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने जनाउनुभएको हो ।

नेताहरूले भावी कार्यदिशा निर्धारण गर्नुपर्ने ऐतिहासिक दायित्व पनि कांग्रेसमाथि रहेको र यो निर्णय पार्टी र लोकतन्त्रसँग समग्र राष्ट्रिय एकता र भविष्यसँग जोडिने बताउनुभयो । केन्द्रीय सदस्यहरूले कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । नेताहरूले १५ औँ महाधिवेशनको कार्यतालिकामा सहमति जुटाएर महाधिवेशनसँगै निर्वाचन तयारीमा जुट्नुपर्ने जनाउनुभयो ।

यसैबिच बैठकले नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, मीनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रूपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले बोल्नुभयो । यसैबिच नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले मङ्सिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने र महाधिवेशन नभए कार्यसमिति भङ्ग गर्न माग गर्नुभएको छ । भक्तपुरका जिल्ला अध्यक्ष दुर्लभ थापाको सभापतित्वमा काठमाडौँमा बिहीबार आयोजित भेलालाई सम्बोधन गर्दै नियमित महाधिवेशन पक्षधर नेताहरूले पार्टीमा रूपान्तरण आवश्यक रहेको जनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here