काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझिदिँदा आम नागरिक बेचैन र विचलित भएको टिप्पणी गरेकी छन्।
युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताको माग सम्बोधन गर्न राज्य गम्भीर भएर लाग्नुपर्ने जनाएकी हुन्।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रतिवेदन हस्तान्तरण गरेपछि प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटनालाई उदाहरण दिँदै युवामा उत्पन्न असन्तोषलाई राज्यले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने जनाइन्।
प्रधानमन्त्री कार्कीले युवालाई रचनात्मक मार्गतर्फ डोर्याउनु राज्यको कर्तव्य भएको उल्लेख गर्दै खेलकुद, सामाजिक सेवा र सिर्जनात्मक अभियानमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्।
हालै पारित युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा परिभाषित गरेको छ। यो समूह १ करोड २४ लाखको जनसंख्यासहित देशको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।


















