बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा प्रमुख अतिथिको रूपमा पोखरेल र बस्नेत आउन लागेपछि सिमरामा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।
बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ। तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
साथै सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।
यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ ।
अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन जेड युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आबद्ध समूहहरुबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षतिथ हुन नदिन एव परिस्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जनाए ।



















