काठमाडाैं । टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा ल्याएको छ ।
उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा, सर्केदेउलगायतका क्षेत्रमा उक्त सेवा सञ्चालनमा ल्याइएको प्रवक्ता मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै 4G सेवा विस्तार हुने स्थानीय तहको संख्या ७४९ पुगेको छ ।
यसैगरी टेलिकमले हुम्लाको अदानचुली– ६ मा 2G तथा 4G सेवा सञ्चालनमा ल्याएको छ ।
2G तथा 4G सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नम्बर २ र अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ती आसपास क्षेत्रका सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरूमा पानचौर, कालिका लगायतका क्षेत्रहरू पर्ने कम्पनीले जनाएको छ ।
यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा 2G तथा 4G सेवा ल्याएको छ ।
2G/4G सेवा सञ्चालनमा आए पश्चात् जुनीचाँदे गाउँपालिकाका विभिन्न वडाहरू वडा नम्बर ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ती आसपासका सेवाग्राहीले पहिलो पटक गुणस्तरीय 2G/4G सेवाबाट लाभान्वित भएका छन् । साथै डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।
वडा नम्बर १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।
साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।
टेलिकमको 2G/4G सेवा विस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।
नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका सेवाग्राहीहरूको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने बासिन्दा सेवाबाट लाभान्वित भएका छन् ।
ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले उक्त क्षेत्रमा सेवा विस्तार गरेको हो ।
प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।


















