नयाँ दिल्लीमा पुटिनलाई स्वागत

20

एजेन्सी  ।  रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारतीय समय अनुसार दिउँसो ४ बजे नयाँ दिल्लीमा उत्रिँदा विश्वको ध्यान फेरि एकपटक भारततर्फ तानिएको छ। अमेरिकाका राष्ट्रपतिले रसियाको तेल खरिदमा भारतलाई ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दबाबमा रहेको मोदीले घरमा पुटिनलाई स्वागत गर्दै गर्दा स्वभाविक रुपमा अमेरिकाले गहिरो चासो राखेको छ।

पुटिनलाई मोदीले भारतको सबैभन्दास्थिर साझेदारको रूपमा भव्य स्वागत र समारोहको तयारी गरेका छन्। स्वागतकर्ता प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको मुख्य विश्वव्यापी प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकासँग पनि गहिरो रणनीतिक सम्बन्ध कायम राख्न खोजिरहेका छन्।

यो भारतको कूटनीतिक ‘स्प्लिट स्क्रिन’ (दुई भागमा विभाजित दृश्य) हो। एकातर्फ, शीतयुद्धमा बनेको अटल मित्रता सस्तो तेल र उन्नत रुसी लडाकु जेट विमानहरूको सम्भावित खरिदका लागि भारत आकर्षित भइरहँदा अर्कोतर्फ, प्रविधि, व्यापार र लगानीमा अमेरिकी सहकार्य र राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका भारी भन्सार शुल्क हटाउने आशा पनि भारतले राखेको छ।

युक्रेनमा पुटिनको आक्रमणपछि भारतले आफ्नो रणनीतिक सम्पत्तिहरू विशाल बजार र हिन्दप्रशान्त क्षेत्रमा महत्त्वपूर्ण स्थानको फाइदा उठाउँदै ह्वाइट हाउस र क्रेमलिन दुवैको ध्यान आकर्षित गरेको छ।

भारतीय राजधानीको मुटुका सडकहरूमा रुसी र भारतीय झण्डाहरू एकसाथ फहराइएका छन्, साथै पुटिनलाई स्वागत गर्ने ठूला होर्डिङ बोर्डहरू पनि राखिएका छन्। तर पुटिनको यो भारत भ्रमण युद्ध सुरु भएपछिको पहिलो हो। मोदीका लागि पनि तनावपूर्ण समयमा भएको भ्रमणलाइ अर्थपूर्ण रुपमा हेरिएको छ।

वाशिंगटनले लगाएको ५० प्रतिशत भन्सार शुल्कपछि नयाँ दिल्लीले अत्यावश्यक व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ। यो भन्सार शुल्कको आधा हिस्सा छुटमा रुसी तेल खरिद जारी राखेको कारणले दण्डस्वरूप लगाइएको थियो।

नयाँ दिल्लीले हालसालै वाशिंगटनलाई खुसी पार्न केही संकेतहरू दिएको छ। उसले रुसी तेल खरिदमा कटौती गर्नुका साथै अमेरिकाबाट २२ लाख मेट्रिक टन ग्यास (एलपिजी) खरिद गर्न सहमति जनाएको छ।

यद्यपि, पुटिनको भ्रमणको एजेन्डामा मस्कोसँग थप रक्षा सम्झौताहरू उच्च प्राथमिकतामा छन्। ती हतियारहरू भारतले पाकिस्तान र चीनविरुद्ध आत्मरक्षाका लागि आवश्यक मानेको छ। पछिल्ला वर्षहरूमा बढ्दो तनावबिच भारत बलियो रक्षा सम्झौताका लागि रसियासँग समतिमा पुग्ने प्रयासमा रहने छ।

अशोका विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका भिजिटिङ प्रोफेसर कान्ति बाजपेयीका अनुसार, पुटिनको लागि ‘रेड कार्पेट’ बिछ्याएर, नयाँ दिल्लीले पश्चिमा र चीन दुवैलाई ‘आफूसँग विकल्पहरू छन्’ भन्ने सन्देश दिइरहेको छ। उनी भन्छन् ‘तेल र हतियार बाहेक, यो कूटनीतिक ‘हेजिङ’ हो। जसले बेइजिङ र वाशिंगटनलाई दिल्लीसँग तेस्रो विकल्प छ भन्ने देखाउँछ र यसले भारतलाई बढी मोलतोल गर्ने ठाउँ दिन्छ।’

भारत र रुसको घनिष्ठ सम्बन्ध शीतयुद्धको समयमा स्थापित भएको थियो। त्यसबेला नयाँ स्वतन्त्र राष्ट्र भारत आधिकारिक रूपमा ‘गुट निरपेक्ष’ भएपनि उसले नयाँ राष्ट्रको रूपमा आफ्नो मार्ग कोर्दा सोभियत संघबाट धेरै औद्योगिक र आर्थिक सहायता प्राप्त गरेको थियो।

१९७० को दशकमा वाशिंगटनले भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई बढ्दो सैन्य र आर्थिक सहयोग दिएपछि भारतको झुकाव मस्कोतिर बढेको थियो। रुसले भारतलाई हतियार उपलब्ध गराउन थाल्यो र मस्को एक विश्वसनीय सन्तुलनकारी शक्ति बन्यो, जसको भूमिकालाई उसले तबदेखि नै महत्त्व दिँदै आएको छ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, पछिल्लो चार वर्षमा भारतले रुसी हतियार खरिदमा कमी आए पनि, मस्को अझै पनि यसको शीर्ष सैन्य आपूर्तिकर्ता रहेको छ।

भारतले रुसी हतियारहरू धेरैजसो आफ्नो प्रतिद्वन्द्वी चीनलाई लक्षित गर्दै खरिद गर्छ। चीन हालैका वर्षहरूमा मस्कोको सबैभन्दा नजिकको साझेदारको रूपमा उदाएको छ, तर भारतसँग चीनको लामो समयदेखिको सीमा विवाद छ।

बेइजिङ, अर्कोतर्फ, भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई प्रमुख हतियार आपूर्तिकर्ता हो, जसमा यसै वर्षको सुरुमा छोटो सीमा संघर्षको क्रममा पाकिस्तानको सेनाले भारतीय लडाकु विमानहरू खसाल्न प्रयोग गरेको जेटहरू पनि समावेश छन्। पाकिस्तानी अधिकारीहरूका अनुसार तीमध्ये एउटा जेट रुस निर्मित सुखोई एसयू-३० थियो।

समाचार संस्था रोयटर्सका अनुसार, हाल भारतका २९ वटा लडाकु स्क्वाड्रनमध्ये धेरैजसो रुसी एसयू-३० जेटहरू छन्। यसै हप्ता रुससँग हुने वार्तामा यसको सबैभन्दा उन्नत लडाकु विमान एसयू- ५७ को सम्भावित हतियार सम्झौताबारे छलफल हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका थिए।

तर हालैका महिनाहरूमा नयाँ दिल्लीको मस्कोसँगको आर्थिक सम्बन्ध समाचारका हेडलाइनहरू बनिरहेका छन्। सन् २०२२ को युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धहरूका कारण रुसी तेलको मूल्य आकाशबाट खसेपछि, भारतले यो अवसरलाई सदुपयोग गर्‍यो।

आफ्नो द्रुत रूपमा विस्तार भइरहेको अर्थतन्त्रलाई इन्धन दिन र १.४ अर्बभन्दा बढी जनसंख्यालाई सहयोग गर्न सस्तो तेल सुनिश्चित गर्न उत्सुक, भारतले रुसी कच्चा तेलको खरिद उल्लेखनीय रूपमा बढायो र क्रेमलिनको शीर्ष खरिदकर्ताहरूमध्ये एक बन्यो। रसिया फेरि एक पटक भारतलाई आफ्नो आर्थिक साझेदार बनाउने प्रयास गर्नेछ।

अमेरिकी दबाबबिच रसियाका राष्ट्रपति पुटिनले मोदीलाई मनाउन सकेमा रसियाले फेरि एकपटक पश्चिममा र अमेरिकालाई दिल्लीबाटै चुनौती दिन सक्ने मानिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here