काठमाडौँ । सरकारले जेनजी समूहसंग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले जनाए ।
बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधीबीच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
त्यसैगरि प्रवक्ता खरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिको प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण भएको जानकारी दिए ।


















