एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारत र श्रीलंकामा आयोजना हुन लागेको टी–२० क्रिकेट विश्वकप प्रत्यक्ष अवलोकनका लागि निमन्त्रणा गरेको छ ।
आइसिसीका अध्यक्ष जय शाहले भारत भ्रमणमा रहेका मेस्सीसँगै अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पल र उरुग्वेका अनुभवी फरवार्ड लुइस स्वारेजलाई पनि विश्वकप हेर्न आमन्त्रण गरेका हुन् ।
आइसिसीका अध्यक्ष शाहले उनीहरूलाई आउँदो ७ फेब्रुअरीदेखि आयोजना हुने भारत र अमेरिकाबीचको टी–२० विश्वकप खेल अवलोकन गर्न विशेष निम्तो दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्रिकेट र फुटबलजस्ता दुई फरक खेलबीच आपसी सम्बन्ध र लोकप्रियता बढाउने उद्देश्यले यस्तो निमन्त्रण गरिएको बताइएको छ ।
मेस्सी, डी पल र स्वारेज ‘गोट इन्डिया टुर’ नामक कार्यक्रमअन्तर्गत गत शनिबारदेखि सोमबारसम्म भारतमा रहेका थिए ।
यस भ्रमणका क्रममा उनीहरू भारतका विभिन्न शहरमा पुगे । सोमबार मेस्सीले नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा सहभागी हजारौं प्रशंसकलाई सम्बोधन गरेका थिए । त्यसअघि उनले कोलकाता, हैदराबाद र मुम्बईमा समेत फुटबलप्रेमी तथा समर्थकसँग संवाद गरेका थिए ।


















