प्रशान्त महासागर
कीर्तिपुर पोखरीहरु सहर कीर्तिपुर पोखरी नै पोखरी भएको एक सभ्य समाज बोकेको उपत्यकाकै पहिलो मानव बस्ती हुन् । यसको पालक अर्थात् क्षत्रपाल स्वयम् भैरव अर्थात शिव हुन् । शिव भगवानकै रोहवरमा कीर्तिपुर सुरक्षित छ । कीर्तिपुरलाई जङ्गलभित्रको देश अर्थात गुँदेय् पनि भन्ने गरिन्छ । गुँदेय्लाई सुरक्षित व्यवस्थित अनि समृद्धिको शिखरमा पुर्याउन शिवदेव तृतीयको २७ वर्ष ७ महिनाको शासनकालमा दक्षिणतिर विशेषगरी तीनवटा पोखरी बनाएको पाईन्छन भने उत्तरतिर पनि विभिन्न प्रयोजनको लागि पोखरी निर्माण गरिएको इतिहास पाईन्छ । मच्छेगाउँमाथिको रानीबनमा बाँध बाँधेर व्यवस्थित पानी कीर्तिपुरका दक्षिण पोखरीमा भर्न ल्याइराखेको सहि र सत्य मान्दै भिमसेन थापाले आफ्नो ३२ वर्षको शासनकालमा ७ जना कर्मचारी नियुक्ति गरि व्यवस्थापन गरिराखेको इतिहासमा उल्लेख छ । कीर्तिपुरको दक्षिणमा रहेका पोखरी मभिपुखूमा पानी भरेपछी त्यो पानी खेत तथा हालको नयाँ बजार हुँदै निखासिको पोखरी समेत भर्न जाने गर्छ । कुनै बेला उक्त पोखरीमा हाँसखेती गरिन्थ्यो भने हाल भोकाधिकार पाएको अवस्थामा सहिद स्मारक कलेज बनेको छ । त्यस्तै नगरपालिका भवन भएको स्थान पनि आगन्तुकको लागि शिवदेव तृतीयकै पाला हरिसिद्धिको नाच देखाउने आउने देवगण स्नान गर्ने पोखरी हुन् । त्यसरी नै उत्तरतिर फैलिएका पोखरीहरुमा आराध्यदेव बाघभैरवको लागि तदर्पण गर्न कमलको फूल खेती पोखरी हुन् । त्यसकारण पलेस्वाँ पुखू पनि भनिन्छ । यी बाहेक कीर्तिपुरमा द्य:पुखू, ग्वा: पुखू लगायत भरियापुखू एवम् द्य:ध्वाखा पनि दुइटा पोखरी छन । द्य: पुखू देवता स्नान गर्ने पोखरी हुन् भने अनेकन उत्तरदक्षिणतिर कुवा एवम् ढुङ्गेधारामा उक्त पोखरीले जीवन दिने गरेका थिए । हाल सौन्दर्यकरणजस्ता कार्यले ती ढुङ्गेधारा लगायत हितिगा: सुकेका छन । ग्वा: पुखू अप्ठ्यारो मानी पुरिएको अवस्थामा छ । नेपालका अझ भनौं उपत्यका विस्तार पुर्व पशुपति उत्खननमा महत्व बोकेको ग्वा: पुखू मानवीय सभ्यता प्रतीक हुन् । पशुपति आउने जो कोहिको पनि दर्शन पुर्ण हुन ग्वा: पुखूको जलाभिसेकबिना अधुरो मानिन्छ । ग्वा: पुखूमा गथामुग: चर्हेका दिन विधिपुर्वक पूजा गरेर जात्रापर्वको अनुमती पनि लिईन्छ । त्यस्तै यहाँको जल, कैलाशपर्वतकै जल जत्तिकै चोखो र पवित्र छ । यस्तै पवित्रताको अर्को पोखरीको नाम हो मभिं पुखू । शिवदेव तृतीयले वलवलदेवीको पूजासिद्धिता हासिल गरि मानव चोख्याउन निर्मित पोखरी हो । आफ्नो सिद्धता र आकांक्षा पूरा गर्न उक्त पोखरीमा स्नान गरेको पूजापाठ गरि अनेक सफलता हासिल गरेका इतिहास पनि छन । यहाँको इतिहासलाई ऐनाको रुपमा अनुशरण गर्ने जो कोहि पनि सफल र सक्षम बनेका दस्तावेज हामीसँग सुरक्षित नै छन । अन्तमा, हाम्राले हाम्रो जयको लागि निर्मित सम्पदा आफूखुसी तोडमोड गर्ने अधिकार हामीसँग छैन । कुनैमा केही परिवर्तन गर्नु त्यो समयको माग होला र अस्तित्व नै मेट्ने कार्यलाई विकास मान्नु जीवन दिने पोखरीले मृत्यु पनि लिन्छ । ढिलो चाँडो पापले सजाय पाउँछ पनि । अत: राम्रो गरेरै राम्रो बन्न सकिनेमा खराब गरेर त्यसबाट फाइदा वा लोभका कुरा गरेर कसैले पनि कुनै सम्पदा नमास्न आग्रह सहित संरक्षणमै विशेष ध्यान केन्द्रित गर्न अनुरोध पनि छ । पर्यावरण खुल्ला र सफा एवम् स्वच्छ राख्ने सबैको कर्तव्य र दायित्व पनि हो ।

















